शुक्रबार, चैत १६, २०८०

मोटरसाइकलको राजा आरएक्स–१०० !

नेपालखोज २०७८ मंसिर १६ गते १३:२९

काठमाडौं । एक समय आरएक्स–१०० मोटरसाइकलको क्रेज निकै थियो । युवादेखि प्रौढसम्मले यही मोटरसाइकल कुदाउने गर्थे । आरएक्स १०० कुदाउनेको बेग्लै सान हुने गर्थ्यो । तर अहिलेका नयाँ ब्रान्डका मोटरसाइकल कुदाउने युवाहरूलाई यो बाइकबारे बताउँदा आश्चर्य मान्ने गर्छन् ।

३० वर्षमुनिका केही युवालाई यस बाइकको बारेमा सुनेर वा सानैमा देखेकाले केही कुरा थाह छ । तर, अधिकांशलाई थाहै छैन । सुन्यो भने अनौठो लाग्ने गर्छ । यामाहा बाइक जापानी कम्पनी भएको सबैलाई थाह छ । १९८५ सम्म भारतमा यामाहा कम्पनीको कुनै पनि मोटरसाइकल आएको थिएन । त्यो बेलाको बजारमा यति नै पावर भएका मोटरसाइकल पनि नभएका होइनन् ।

तर ती मोटरसाइकलमा केही न केही कमजोरी थिए । भारतमा यो बाइकको उत्पादन १९८५ मा सुरु भएको थियो । १९९० सम्मदेखि नेपालमा पनि बिक्री–वितरण सुरु भयो । जापानी यामाहा कम्पनीको यो मोटरसाइकल सन् १९८५ देखि १९९६ सम्म भारतमा धेरै नै उत्पादन भयो । अन्तिम उत्पादन मिति १९९६ पछि पनि धेरैले कुदाएको देखिन्थ्यो ।

यामाहा आरएक्स १०० जमानामा दक्षिणपूर्व एसिया, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र इन्डोनेसियालगायत देशमा खुबै प्रचलित थियो । यो मोटरसाइकल पारखीका लागि एक गहना नै थियो ।

प्रतिष्ठित आरएक्स १०० मोटरसाइकल भने यामाहा मोटर्सद्वारा डिजाइन तथा उत्पादन गरिएको हो । यामाहाको यस साधनलाई निश्चित रूपमा कुनै परिचयको आवश्यकता छैन । यो यामाहा लाइनअपको सबैभन्दा प्रतिष्ठित मोटरसाइकलमध्ये एक थियो ।

भारतको सेकेन्ड–ह्यान्ड बाइक बजारमा अहिले पनि यसको धेरै माग छ । मोटरसाइकल पारखीले अझै पनि आरएक्स भेटे निजी संग्रहका लागि राख्ने गर्छन् ।

आरएक्सलाई ‘पकेट रकेट’ भनिन्छ । यामाहा आरएक्स एकदमै हल्का तौलको मोटरसाइकल थियो । यसले छिटो गति लिन सक्थ्यो । त्यसैले यसलाई ’पकेट रकेट’ भनिन्थ्यो ।

त्यो बेला यसलाई मन पराउनका धेरै कारण छन् । यो बाइक ९८ सीसी, सिंगल सिलिन्डर, टू–स्ट्रोक इन्जिनद्वारा सञ्चालित थियो । यसले ११ बीएचपी पिक पावर र १०.३९ एनएम पिक टर्क उत्पादन गर्थ्यो ।

यसमा फोर–स्पिड गियर थियो । अहिलेका मोटरसाइकलमा फाइफ स्पिड गियर बक्स हुन्छ । तर त्यति बेलाको यो मोटरसाइकलमा फोर स्पिड गियर बक्स भएकाले यो कतिसम्म लोकप्रिय थियो भन्ने पनि प्रस्ट हुन्छ ।

यसलाई ठ्याक्कै सस्तो बाइकका रूपमा पनि लिइँदैन । यसलाई लाइट वेट चेसिस राइडरका रूपमा लिन सकिन्छ । यो बाइक धेरै उच्च गतिमा गुड्न सक्दैनथ्यो, किनभने यो अत्यन्त हल्का थियो । यसमा प्रभावशाली एक्सेलेरेसन भए पनि धेरै समयसम्म उच्च गतिमा चलाउन सकिँदैन ।

यसको कन्सोल अहिले पनि धेरैले मन पराउने गर्छन् । इन्स्ट्रुमेन्ट कन्सोलमा बायाँपट्टि न्युट्रल लाइट र हेड बिम लाइट हुन्थ्यो । बीचमा स्पिडोमिटर थियो । दायाँतर्फ चाबी राख्ने ठाउँ थियो । इडिन्केटर दायाँ साइडको अलि पर र बायाँ साइडको पनि अलि पर छेउमा थियो । अहिलेचाहिँ बीचमा राखिने गरिएको छ ।

यामाहा कम्पनीले सय किलोमिटर प्रतिघण्टाको स्पिड र चार गियरमा ठीकै हुने गरी यो बाइक उत्पादन गरेको थियो । हुन पनि त्यति बेलाका युवाहरू यो मोटरसाइकल गज्जबले कुदाउने गर्थे । इटहरीका काश्मीर घिमिरेले पनि आरएक्स–१०० खुबै चलाए । आफूले उतिबेला आफूले आरएक्स मोटरसाइकल चलाउँदा बेग्लै सानको अनुभूति गरेको नेपालखोजलाई बताए । ‘उकालो सहजै चढ्ने, माइलेज पनि राम्रै दिने, चढ्दा बेग्लै सानको अनुभूति हुन्थ्यो,’ उनले भने, ‘बलियो मानिने आरएक्सलाई अरू आधुनिक मोटरसाइकलले विस्थापित गर्यो । अहिले पनि उतिबेला आरएक्स कुदाएको झल्झली याद आउँछ ।’

सन् १९९५ मा टु स्ट्रोक प्रविधिमा बनेको यो मोटरसाइकलमा रिफाइनिङ कम्पोनेन्ट नभएको र अलि बढी धुवाँ निकाल्यो भन्ने आमगुनासो भन्दै भारत सरकारले प्रतिबन्ध लगाउने नियम ल्यायो । १९९६ देखि भारतमा यसको उत्पादन नै बन्द गरिएको थियो । उत्पादन बन्द भएको धेरै वर्षसम्म पनि भारत र नेपालका सहरहरूमा आरएक्स १०० बिक्री गरिएको थियो ।

खासगरी यो बाइक त्यतिबेला नेपाल र भारतका बजारमा जापानबाट बनेर आएको थिएन । ब्रान्ड जापानिज तर ट्र्याक्टर बनाउने कम्पनी एस्कर्टसँग सहकार्य गरेर भारतमा उत्पादन हुने गथ्र्यो । आरएक्स बाइक धेरै भारतीय चलचित्रहरूमा चित्रित छ । अधिकांश नेपाली र भारतीय नायकहरूले अभिनयका क्रममा यस बाइकलाई खुबै कुदाएका छन् । भारतीय चलचित्र उद्योगहरूले यसलाई एकताका खुबै मन पराएका थिए । बाइकलाई विभिन्न चलचित्रका दृष्यहरूमा देखाइएको छ ।

कुनै समय यामाहा आरएक्स १०० लाई पुरुषत्वको प्रतीक पनि मानिन्थ्यो । टू–स्ट्रोक मोटरसाइकल अरू मोटरसाइकलको तुलनामा छिटो थियो । बिस्तारै युवाहरूबीच मनपर्ने साधन बनेको थियो ।

भारत सरकारले प्रतिबन्ध लगाएपछि यामाहाले यसको परिष्कृत रूपमा आरएक्स–जेड १३५ उत्पादन गरेको थियो । तर यस बाइकमा धेरै प्राविधिक त्रुटि देखिए ।

नेपाली बजारमा कहिल्यै मोटरसाइकल उत्पादन भएनन् । अन्ततः यामाहाले भारतमा यसको उत्पादन नै बन्द गर्यो । पछि आरएक्स १३५ लन्च गर्यो । तर यसले प्रतिष्ठित आरएक्स १०० को सफलतालाई कहिल्यै दोहोर्याउन सकेन ।

आरएक्स १०० त्यो बेलाको समयमा सानो, सस्तो र छिटो कुद्ने लोकप्रिय मोटरसाइकल थियो । यसको लोकप्रियता बढेको देखेपछि धेरै कम्पनीले यस्तै मोटरसाइकल निकाल्न धेरै प्रयत्न गरेका थिए । तर जति धेरै निकाले पनि असफल भएका थिए । यो अरू मोटरसाइकलभन्दा राम्रो छ भनेर विज्ञापन गरिहरनु पर्दैनथ्यो । स्वतःस्फूर्त रूपमै सार्वजनिक भएको थियो ।

वास्तवमा बजाज पल्सरको युगअघि यामाहा आरएक्स १०० साँच्चै सडकको निर्विवाद राजा थियो । अहिले पनि त्यो बेलाको सानले यो मोटरसाइकल कुदाएको याद सबैको मानसपटलमा झल्झिली छ ।

प्रतिक्रिया