शुक्रबार, असार २०, २०८२

दिल्लीमा अचाक्ली वायुप्रदूषण, सबै विद्यालय अनिश्चितकालका लागि बन्द !

नेपालखोज २०७८ मंसिर १६ गते १५:२५

काठमाडौं । प्रदूषण बढ्दै गएपछि भारतको नयाँदिल्लीमा सञ्चालित सबै विद्यालय बन्द गरिएका छन् । दिल्ली राज्यको शिक्षा विभागले अर्को आदेश नभएसम्मका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएबमोजिम विद्यालयहरु बन्द गरिएका हुन् ।

दिल्लीस्थित शिक्षा विभागले जारी गरेको सूचनामा सबै सरकारी, गैरसरकारी, सरकारी सहायता प्राप्त, गैर-सहायता प्राप्त, मान्यता प्राप्त, एनडीएमसी, नगरपालिका र दिल्ली क्यान्टोन्मेन्ट बोर्ड स्कुलहरू अर्को आदेश नभएसम्म बन्द रहने भनिएको छ । यस अवधिमा अनलाइन अध्ययन भने जारी रहने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नयाँदिल्लीका वातावरणमन्त्री गोपाल रायले सहरको वायु प्रदूषण खराब बन्दै गएपछि भोलि (शुक्रबार) देखि सबै विद्यालय बन्द गरिने जनाएका छन् । भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने अरविन्द केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि नयाँदिल्लीको शिक्षा विभाग विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

हिजो (बुधबार) अभिाभावक घरमा बसेर बालबालिकालाई विद्यालय जान बाध्य पारिएको भन्दै अदालतले दिल्ली सरकारमाथि प्रश्न उठाएको थियो । अदालतले केन्द्र सरकारलाई चौबीस घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न आदेश पनि दिएको छ । शिक्षा विभागका अनुसार दिल्लीका विद्यालयहरूमा बोर्ड परीक्षा पूर्वनिर्धारित समयतालिकाअनुसारै हुनेछ ।

-हिन्दुस्तान

प्रतिक्रिया