‘जनताको स्वास्थ्यको संरक्षण गर्नु राज्यको पहिलो धर्म’

नेपालखोज २०७८ मंसिर १६ गते १६:२८

कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइन् । उनले यस खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, संस्कृति र सभ्यताको प्रवर्द्धनमा सहयोग पुग्ने बताइन् ।

नेपालमा पनि कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको प्रभावको प्रसंग स्मरण गर्दै राज्यको पहिलो धर्म जनताको स्वास्थ्यको संरक्षण भएकाले कोरोना भाइरसबाट नेपाली नागरिकलाई बचाउन विशेष पहल गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट विश्व नै आक्रान्त रहेको अवस्थामा पनि जनजीवनलाई सहज बनाउने प्रयास भएको भन्दै कोरोना भाइरसबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले चुरे क्षेत्र नेपालको जीवनरेखा भएको बताउँदै चुरेको संरक्षणमा नजिकैका बासिन्दालाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्न आह्वान पनि गरेकी छन् । उनले विकासको गतिलाई अवरुद्ध हुन नदिन तथा प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास गर्न आग्रह गरिन् ।

यसअघि राष्ट्रपति भण्डारीले कैलाश आश्रम धाममा निर्माण गरिएका दुई वटा प्रवेशद्वार र अष्टचिरञ्जीबी महाकुण्डको अनावरण गरेकी थिइन् ।

प्रतिक्रिया