दोलखामा सहकारीका सुरक्षा गार्डको हत्या गरि रकम लुट्ने २ जना पक्राउ

नेपालखोज २०७८ मंसिर १६ गते १७:३८

दोलखा । दोलखामा एक सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । गएको कात्तिक १० गते गारीशंकर गाउँपालिका १ जुगुको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरेको आरोपमा जुगुकै विक्रम कार्की र सुमन कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

उनीहरूले सुरक्षा गार्ड पूर्णबहादुरको हत्या गरी एक लाख ८५ हजार रुपैयाँ लिएर फरार भएका थिए । हत्या गरिएका पूर्णबहादुरको शव डोरीले हातखुट्टा बाँधेको र कपडाले मुख थुनेको अवस्थामा दुई दिनपछि नजिकैको जङ्गलमा भेटिएको थियो । पक्राउ परेका विक्रम कार्की र सुमन कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाइएको सीआईबीले जनाएको छ ।

उक्त घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विक्रमलाई काठमाडौं महानगरपालिका–३२ तिनकुने र सुमनलाई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीबाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट लुटिएको मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया