पाटनको भीमसेन मन्दिर अन्तर्राष्ट्रिय जगतमै प्रसिद्ध

नेपालखोज २०७८ मंसिर १८ गते १४:२३

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार क्षेत्रस्थित स्थानीय समुदायको पहलमा निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताएकी छन् । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा आज निर्माणाधीन भीमसेन मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा उनले सामुहिकरूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताइन् ।

मन्त्री भुषालले भने, ‘ छ वर्षअघि भूकम्पले क्षति पु¥याएको पाटनको सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरुप लिएकाले पाटनको मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।’जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उनको भनाइ थियो ।

संघका पूर्व अध्यक्ष कृष्णलाल महर्जनले केही दिन बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर निर्माणका लागि ललितपुरका जनताको सहभागिता रहने जनाए । मन्दिर निर्माणमा प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्टका निर्देशक डा. रोहित रञ्जितकारले झिँगटी छाउने काममा अझै १०–१२ दिन लाग्ने जानकारी दिए ।

२०७२ को गोरखा भूकम्प र पटकपटक आएको परकम्पका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर चिराचिरा परेको थियो । तीनतले मन्दिरको सबैभन्दा माथि गजुर हाल्ने अनि सोही तलामा सुन लेपन गरिएको तामाको पाता छाइएको र दोस्रो तलामा झिँगटी छाउनेसमेत सकिएकामा हाल बाँकी रहेको तलाको काम अघि बढाइएको हो ।

संघका अध्यक्ष मनोजबहादुर न्याछयोंले झिँगटीको काम सकेर मन्दिरको तोरण आदि सम्पूर्ण सरसफाइ पुसभित्र सम्पन्न गरिने जनाएका छन् । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोहरका रुपमा प्यागोडा शैलीमा पुनर्निर्माण भइरहेको छ ।

सो कामका लागि आज मन्दिरमा स्थानीय जनताका साथै विभिन्न जातीय समाज र विभिन्न संघसंस्थाका व्यक्तिसमेत सहभागी थिए । विश्वसम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका १६ मा उक्त मन्दिर छ ।

प्रतिक्रिया