आइतबार, वैशाख १६, २०८१

तत्काल संविधान संशोधन गरेर अघि बढन जसपा प्रतिवद्ध : अध्यक्ष भट्टराई

नेपालखोज २०७८ मंसिर १८ गते १७:४९

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भएका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकतावद्ध भएर अघि बढन पनि आह्वान गरे ।

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा कुरा उठाईराखेको र मन्त्रीपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेस गर्न लगाउने आश्वासन समेत दिए ।

उनले भने, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । र, सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छाैं । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अव हामीले चाँही एक ढिक्का भएर अगाडि बढौं । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिवद्ध ।’

अध्यक्ष भट्टराईले फेरी पनि संघर्ष नगरिकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गरे । उनले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया