आइतबार, जेठ ५, २०८२

बेलायतमा कोरोनाको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

नेपालखोज २०७८ मंसिर १९ गते १३:२९

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला साताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै संक्रमित हुने गरेका छन् । शनिबार मात्र पनि यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको बताइएको छ । यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन् ।

अधिकारीहरुले बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड नाघेको जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घण्टामा देखिएका सहित यहाँ यो भाइरसबाट अहिले सम्म १ करोड ४२ हजार जनाभन्दा बढीमा यो संक्रमण देखिएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा मात्र यहाँ यो सङ्क्रमणबाट व्यक्ति १२७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लोपटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन भनेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया