इन्डोनेसियामा ज्वालामुखी विस्फोट : १३ जनाको मृत्यु, ९८ जना घाइते
नेपालखोज
२०७८ मंसिर १९ गते १५:०५

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ ।
दुई ओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।
त्यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ ।
अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया