बिहीबार, चैत १५, २०८०

भारतकी छोरी नेपालकी बुहारी मीनुलाई ‘मिसेस एसिया यूएसए’को उपाधि

नेपालखोज २०७८ मंसिर १९ गते १७:१७

काठमाडौं । मीनु गुप्ताले ‘मिसेस एसिया यूएसए’ को उपाधि चुमेकी छन् । मीनुको सफलतामा उनको परिवारमा खुसीको माहोल छ । बधाई दिनेहरूको घुइँचो छ । मीनुका ससुरा मंगलप्रसाद गुप्ताले सामाजिक सन्जाल फेसबुकमा बुहारीले पाएको उपाधि नेपाल, भारत र अमेरिकाका लागि गौरवको विषय भएको उल्लेख गरेका छन् ।

मंगलप्रसाद फेसबुकमा लेख्छन्, ‘म धेरै गौरवान्वित छु कि मेरी कान्छी बुहारी मीनू गुप्ताले अमेरिकाको क्यालिफोर्नियामा आयोजना गरिएको सामुदायिक मंचमा ‘मिसेस एसिया यूएसए’ को उपाधि जितेकी छन् ।’

भारतीय सञ्चारमाध्यम उत्तराखण्ड टुडेले मीनुको प्रतिभाले राज्य र देशको नाम विश्वभर फैलिएको उल्लेख गरेको छ । मिसेस एसिया अमेरिकी सौन्दर्य प्रतियोगिताको उपाधि जितेकामा भारतकी छोरी र नेपालकी बुहारी मीनुको दुबै देशले गौरव महसुस गरेका छन् । हालसाल उनी अमेरिकामा बसोवास गर्दै आएकीले अमेरिकाका लागि पनि गौरवकी पात्र हुन् ।

क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा आयोजकले एक विशेष कार्यक्रममा उनलाई गड्गडाहत तालिको साथ ताज पहिराई हो ।गुप्तालाई भारतका प्रधानमन्त्री नरेन्द्रमोदी र अमेरिकाका राष्ट्रपति जो बाइडनद्वारा सिनेटमा सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

गुप्ताको जन्म भारतको उत्तराखण्डमा भएको थियो । विवाहचाहिँ नेपाली नागरिकसँग भएको हो । तर उनी आजकल श्रीमान् बिशाल गुप्तासँगै अमेरिकामा स्थायी रुपमा बसोवास गर्दै आएकी छन् । मीनुका बुबा कौशल गुप्ता भने सरकारी निकायको एक चिनी मिलबाट सेवानिवृत्त छन् ।

मीनुको प्रारम्भिक अध्ययन भारतको उत्तराखण्डको किछामा भएको थियो । आफ्नो जन्म स्थानमा प्रविणता प्रमाणपत्रसम्म पढेकी उनले पन्तनगर विश्वविद्यालयबाट बीएससी र पञ्जाब विश्वविद्यालयबाट एमएससीसम्म अध्ययन गरेकी छन् ।

जुनियर रिसर्च फेलोसिपमा उनी भारत देशकै चौथो स्थानमा आएकी थिइन् । मीनुको सन् २०१७ मा विशाल गुप्तासँग विवाह भएको थियो । उनका श्रीमान् अमेरिकाको वाशिंगटनमा प्रशिद्ध माइक्रोसफ्ट कम्पनी एक्स–बक्समा व्यापार प्रमुख छन् ।

‘मिसेस एसिया यूएसए’ कार्यक्रम अमेरिकाको प्रसिद्ध फेसन कम्पनी भर्जिलिया फेशन हाउसले आयोजना गरेको हो । यस सौन्दर्य प्रतियोगितामा एसियाका १५० देशका २ सय प्रतिभाशाली युवतीको सहभागिता थियो । ९० जना प्रतियोगी फाइनलमा पुगेका थिए । अन्ततः अन्तिम निर्णय मीनुको पक्षमा गएको हो ।

बाल्यकालदेखि नै गायन, संगीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रमप्रतिको लगावका कारण मीनुले यो प्रतियोगिता आफ्नो नाममा राख्न सफल भएकी हु्न् । आफ्नो प्रतिभाको बलमा मीनु ‘मिसेस एसिया यूएसए’को उपाधि चुम्न सफल भएकामा उनको नेपाल, भारत र अमेरिकामा पनि प्रशंसा भएको छ ।

प्रतिक्रिया