‘लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको सक्रियता बराबर आवश्यक’

नेपालखोज २०७८ मंसिर १९ गते १७:३७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी छन् ।

आईतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताइन् ।

उनले लैंगिक हिंसा उन्मुलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्ने बताइन् । राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताइन् ।

उनले छाउपडी, बोक्सी जस्ता कुप्रथाहरु पूर्णरुपमा निर्मुल गर्न अझै संघर्ष गरिरहनु परेको अवस्थामा अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिला विरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलवायु अनुकुलन र न्यूनिकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने बताइन् ।

उनले महिला हिंसा अन्त्यको लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदाय तहमा पुर्‍याउने र छलफलबाट प्राप्त सुझावहरुलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक रहेको समेत औँल्याइन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया