‘म ठूलो हुँ’ भन्ने भाव नराख्न नवनिर्वाचित नेतृत्वलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् ।
आईतबार राजेन्द्र लिङदेन नेतृत्वको नवनिर्वाचित केन्द्रिय सदस्यहरुको शपथ तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुने वित्तिकै म ठूलो भए भन्ने भावना पाल्न नहुने बताएका हुन् । उनले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टीभित्र सबैले हातेमालो गएर अघि बढनुपर्ने आवश्यकता समेत औंल्याए ।
निवर्तमान अध्यक्ष लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभए पनि सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी रुपमा जागरण अभियान संचालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए । उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान गर्दै अघि बढने विश्वास समेत व्यक्त गरे ।
निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई मुलुकको भरपर्दो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउँदै अघि बढनुपर्ने आवश्यक्तामा पनि जोड दिए ।
प्रतिक्रिया