नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुकाे चेतावनी

काठमाडौं । कोरोना महामारीको कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीहरुले सरकारसँग आग्रह गरेका हुन् ।
विद्यार्थीहरुले डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका छन् । विद्यार्थीहरुले आफ्नो जायज माग पुरा नगरेमा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् । समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्नेपनि उनीहरुको चेतावनी छ । चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले २०७८ साल साउन २३ गते इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुलाई अनलाइन आवेदन गर्न सुचित गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्षलगायतका उपस्थितिमा मंसिर १७ गते भएको छलफलले विदेशमा विभिन्न शिक्षण संस्थाहरुमा शिक्षाको एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीहरुले कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित् भई अध्ययन निरन्तरता दिनको लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कुटनितिक पहल गर्ने र उल्लेखित नियामक निकायहरु समेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित विद्यार्थीहरुले नेपाल मेडिकलले काउन्सिलमा बुझ्न जाँदा अनलाइनमार्फत लिइएको कक्षालाई मान्यता दिने भनेपछि आफूहरुले अनलाइन कक्षा लिएको बताए । अनलाइन कक्षा लिएर पूरै रकमसमेत बुझाएको उनीहरुको भनाई छ । काउन्सिल र विश्वविद्यालयको समन्वयपछि पीडित विद्यार्थीहरुले अनलाइनमार्फत सैद्धान्तिक विषयहरु पढेको सुनाए । बाध्यात्मक परिस्थितिमा इन्टर्नसिप लिन बाध्य भएका विद्यार्थीहरुले राहत दिनुपर्नेमा थप पीडा दिईएको बताए । पटक–पटक सम्बन्धित् निकायमा धर्ना तथा विरोधका कार्यक्रम गरेको भएपनि अहिलेसम्म आफूहरुको मागको सुनुवाई नभएको उनीहरुको भनाई छ ।




प्रतिक्रिया