आइतबार, जेठ ५, २०८२

कांग्रेस वाग्मती प्रदेशका सभापतिमा बानियाँ

नेपालखोज २०७८ मंसिर २० गते ७:०३

वाग्मती । नेपाली कांग्रेसको प्रथम वाग्मती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट उनले एक हजार ८५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिए ।

१३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७७ मत प्राप्त गरेका थिए ।

कांग्रेसको विधानमा कुनै पनि उम्मेद्वारले कुल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ । आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेद्वार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गरेका थिए । रासस

प्रतिक्रिया