शुक्रबार, वैशाख ७, २०८१

नेपालमा पनि भेटियो ओमिक्रोन !

नेपालखोज २०७८ मंसिर २० गते १४:०८

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपालमा पनि भेटिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ भेरियन्टबारे जानकारी दिएको हो ।

विदेशबाट आएका एकजना र उनको सम्पर्कमा आएर अर्का व्यक्तिमा भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले विदेशी नागरिकमा ओमिक्रोन भेटिएको बताए ।

ती विदेशी नागरिक मंसिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । उनी आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । मंसिर ७ गते कोभिड १९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा उनी र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित दुवै तोकिएको मापदण्डअनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षण देखिएको छैन । उनीहरुको सम्पर्कमा आएका ६६ जना कन्ट्रयाक ट्रेसिङमा परेका थिए । उनीहरुको नमुना परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो भाइरस २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । अहिलेसम्म विश्वमा ५७४ जना यस भेरियन्टबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनको प्रारम्भिक आकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम छ ।

प्रतिक्रिया