शुक्रबार, वैशाख १४, २०८१

‘बिमा गर्न प्रोत्साहित गर्ने कार्यक्रम ल्याउँछौं’

नेपालखोज २०७८ मंसिर २० गते १४:४९

काठमाडौं । बिमा समितिको आयोजनामा विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरुको उपस्थिति र सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा प्रदेश सरकार र बिमा विषयक अन्तरक्रिया गरिएको छ ।

देशमा बिमा क्षेत्रको समग्र विकासका साथै बिमाको पहुँच विस्तारका लागि बिमा समितिले प्रदेश सरकारहरुसँग छलफल एवं अन्तरक्रिया गर्ने क्रममा प्रदेश १ मा आइतबार (हिजो) कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको बजेट सीमित भएकाले सुरुवाती चरणमा भए पनि जनतासँग प्रत्यक्ष जोडिएका सम्पत्तिलगायत विभिन्न बिमा गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउने बताए ।

उनले बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विद्यालयका पाठ्यक्रममा बिमा विषयलाई पनि समावेश गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । मुख्यमन्त्री राईले जनताले बिमा गरेपछि कुनै कारणले आवश्यक प्रमाण जुटाउन ढिला भए पनि बिमा दाबी गर्नबाट वञ्चित नहुने व्यवस्था गर्नुपर्ने बताए ।

बिमाप्रतिको जनताको आकर्षणलाई अझ व्यापक तुल्याउन बिमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालनमा जोड दिनुपर्ने आवश्यकतासमेत उनले औंल्याए ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशका विभिन्न स्थानमा बिमा कम्पनीहरुबाट भइरहेका कामको अनुगमन गर्न केन्द्रबाट समस्या परेकाले पहिलो चरणमा कम्तीमा तीनवटा प्रदेशमा बिमा समितिको प्रदेश कार्यालय स्थापनाका लागि तयारी गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले जनताको बिमाको रकम सुरक्षित हुनुपर्छ र बिमा दाबीको भुक्तानी समयमै हुनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए । उनले देशमा बिमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बिमा समिति प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरुले बिमा कम्पनीहरुले कृषि तथा पशुपक्षी बिमा गर्न आनाकानी गर्ने गरेको, गाई भैंसीको कम मूल्य राखेर बिमा गर्ने गरेको, कृषि तथा पशुपालन गर्न तयार गरिएका भौतिक संरचनाहरुको बिमा सोही बिमाअन्तर्गत गर्ने नगरिएको, सर्वसाधारणले समयमा बिमा दाबीको भुक्तानी नपाएकोलगायत गुनासा गरे । कार्यक्रमको सञ्चालन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सरोजप्रसाद गुरागाईंले गरेका थियो भने बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले समितिका तर्फबाट बिमासम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।

प्रतिक्रिया