इच्छाराजको नाममा सय रोपनी !

नेपालखोज २०७८ मंसिर २० गते १५:५९

काठमाडौ । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा बचतकर्ताहरुको बचत रकम घोटाला गरेको अभियोगमा पक्राउ परेका पूर्वसांसद एवं सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङको नाममा बिभिन्न स्थानमा लगभग सय रोपनी जग्गा फेला परेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको बचत रकम घोटाला गरेको अभियोगमा गत असोज १८ गते पक्राउ परेका तामाङको मुद्धामा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोजन पत्रमा यो तथ्य फेला परेको हो ।तामाङले आफ्ना परिवारका चारजना सदस्यहरुको नाममा १२ रोपनी र आफ्नो संलग्नता रहेको विभिन्न कम्पनीहरुको नाममा ८७ रोपनी जग्गा राखेको खुलेको छ । अभियोजन पत्रमा उल्लेख भएअनुसार तामाङले काठमाडौंको कीर्तिपुरमा ५७.३० वर्गफिट जग्गा आफ्नो नाउँमा राखेका छन् भने प्रतिक्षा तामाङ (छोरी) को नाममा किर्तिपुरमा नै एउटा घर र ९७२.६ वर्ग किलोमिटरको जग्गा छ ।

यसैगरी तामाङले अर्की छोरी प्रतिष्ठा तामाङको नाममा पनि कीर्तिपुरमा नै एउटा घर र १.३२ रोपनी जग्गा राखेका छन् । यसबाहेक बाँकी जग्गा भने तामाङले आफ्नी श्रीमती सिर्जना शाक्य तामाङको नाममा राखेको अभियोजन पत्रमा उल्लेख छ ।

तामाङले यस बाहेकको बाँकी जग्गा भने आफ्नो स्वामित्वमा रहेको सिभिल होम्स प्रालि र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीको नाममा काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा राखेको देखिएको छ । तामाङबिरुद्ध हालसम्म एक हजार पाँच सय तीनजनाले जाहेरी दिएका छन् भने उक्त जाहेरीबाट पाँच अर्ब ६७ करोड रुपैयाँ बराबरको रकम दावी गरिएको छ ।

प्रतिक्रिया