शुक्रबार, वैशाख १४, २०८१

वाग्मती प्रदेशमा डा. महतको पकड बलियो

नेपालखोज २०७८ मंसिर २१ गते १३:३४

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महत अहिले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा व्यस्त छन् । कांग्रेस महामन्त्रीमा उम्मेद्‌वारी दिने घोषणा गरिसकेका डा. महतले लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट रहेर काम गर्दै आएका छन् । विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेस र यसको प्रजातान्त्रिक आन्दोलनमा होमिएका डा. महत कांग्रेसमा नयाँ पुस्ताका अर्थविद् तथा बौद्धिक नेता मानिन्छन् । कांग्रेस केन्द्रीय समितिको सह-महामन्त्री भएयता उनी कुशल संगठकसमेत साबित हुँदै गएका छन् भने पार्टीको संगठनमा उनको पकडसमेत बलियो हुँदै गएको छ ।

यसको पछिल्लो उदाहरण वाग्मती प्रदेशको पार्टीको आन्तरिक निर्वाचन पनि हो । डा. महतले यसपटक वाग्मती प्रदेशमा आफ्नो ‘मिसन’ मा सफलता हात पारेका छन् । यसले पार्टीको आन्तरिक संगठनमा युवा पुस्ताको बढ्दो प्रभावलाई पनि संकेत गर्छ । कांग्रेसको वाग्मती प्रदेश कार्यसमितिको सभापतिमा युवा नेता इन्द्रबहादुर बानियाँको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डा. महतको वाग्मती प्रदेशमा बढ्दो प्रभावका रुपमा समेत विश्लेषण गर्न थालिएको छ । डा. महतले वाग्मती प्रदेशको कांग्रेस निर्वाचनको कमान्ड सम्हाल्दै बाहिरी तामझामभन्दा रणनीतिक पहलमा जोड दिएका थिए जसको परिणाम युवा नेता बानियाँको जितका रुपमा बाहिर आयो ।

वाग्मती प्रदेशको कार्यसमितिका लागि नयाँ युवा अनुहारलाई अघि सार्न सभापति शेरबहादुर देउवासँग आग्रह गर्नेदेखि काठमाडौं उपत्यकामा रहेका शीर्ष नेताहरूसँग संवाद एवं समन्वय गरेर जितको आधार तयार गर्न डा. महतले दिनरात मिहिनेत गरे ।

उनले यसक्रममा आफ्नो लबिइङलाई वाग्मती प्रदेशका सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, वडा सभापति, केन्द्रीय सदस्य, सांसदलगायत धेरै नेता, कार्यकर्ताहरूसम्म पुर्‍याए । यसले कांग्रेस प्रदेशसभा सदस्य तथा मकवानपुरका जल्दाबल्दा युवा नेता बानियाँलाई प्रदेश सभापतिका रुपमा क्षेत्रीय स्तरको कमान्ड सम्हाल्ने अवसर प्रदान गर्‍यो ।

‘इन्द्रबहादुर बानियाँजीले जित्नु भनेको कांग्रेसका नेता कार्यकर्ता, तपाईं-हामी सबैको जित हो । कांग्रेसका कार्यकर्ता र प्रतिनिधिहरूले जिताउनु भएको छ । सबैलाई धन्यवाद र बानियाँजीलाई शुभकामना,’ डा. महतले भनेका छन् । उनले बानियाँको जितलाई पार्टीभित्र आन्तरिक लोकतन्त्रको जितसमेत बताएका छन् ।

प्रतिक्रिया