बिहीबार, वैशाख १३, २०८१

‘सरकारले सेयर बजारलाई लगाम लगाउने नीति अँगाल्दा बजारमा निरन्तर गिरावट’

नेपालखोज २०७८ मंसिर २१ गते १८:४४

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छन् ।

आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले सेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर, सेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताइन् । उनले सेयर बजार नियामक निकायहरुले सेयर बजार बढी रहेको अवस्थामा बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन् ।

सेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्नु, मौद्रिक नीतिमा सेयर बजारका लागि कडाइ गर्नु, नियामक निकायहरुको सेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाइन् ।

अध्यक्ष पोखरेले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फर्किएकाले बजारमा गिरावट भएको बताइन्।

उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताइन् । अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुदै गएको बताइन् ।

प्रतिक्रिया