शनिबार, वैशाख १५, २०८१

एनसेलका ग्राहकलाई आजियाटा र राकुटेन भाइबरको ‘विशेष डाटा प्याकेज’

नेपालखोज २०७८ मंसिर २१ गते १९:३७

काठमाडौं । एनसेलका ग्राहकहरुले अब विशेष डाटा प्याकेज पाउने भएका छन् । त्यसका लागि एनसेल आजियाटा र राकुटेन भाइबरबीच साझेदारी भएको छ। ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप युट्युब, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले भाइबर चलाउन छुट्टै डाटा निःशुल्क पाउँने सम्झौता भएको छ ।

यो प्याकका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन। पहिलाकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजिङ, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ। भाइबरले प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न सुरक्षा पनि परिस्कृत गरेको एनसेलले जनाएको छ।

एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरुमा निःशुल्क पहुँच पाउँछन् ।र, खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको बताइएको छ।

एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर)मा आधारित लोकलाइज्ड भाइबर लेन्सको पनि सुरुवात गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया