रामचन्द्र पौडेल पक्षले आज साँझसम्म साझा उम्मेद्‌वार तय गर्ने

नेपालखोज २०७८ मंसिर २२ गते ६:२८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज साँझसम्म पार्टीको १४औं महाधिवेशनका लागि साझा उम्मेद्वार तय गर्ने निर्णय गरेको छ ।

हिजाे (मंगलबार) चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेद्वार आजसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको थियाे ।

महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि आज साँझसम्म आफूहरुकाे पक्षले सहमतीमै उम्मेद्वार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले बताएका छन् । त्यसका लागि हिजाेको बैठक सहमतिको नजिक पुगेको पनि उनले दाबी गरेका थिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेद्वारको आकांक्षी रहेका छन् । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेद्वारी दिनेगरी सहमतिको नजिक पुगिएको दाबी गरे । यता, संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेद्वारी दिने छन् ।

प्रतिक्रिया