सोमबार, जेठ ६, २०८२

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

नेपालखोज २०७८ मंसिर २२ गते १७:३२

काठमाडौं । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहण पछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताए । उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने बताए ।

मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको बताएका छन् ।

त्यस्तै, कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्यु पछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताएकी छन् । उनले मानिसहरुले देहावसा नपछि विस्तारै बिर्सिंदै जाने भने पनि उनका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने बताइन् । डा. रेग्मीले ‘गाउँछ गीत नेपाली’ भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन् ।

उक्त गीतमा नेपाल र नेपालीहरुको बारेमा सबै यथार्थ चित्रण गरिएकोले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उनले बताएकी छिन् । डा. रेग्मीले पिताका कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने बताएकी छन् ।

प्रतिक्रिया