सोमबार, जेठ ६, २०८२

‘नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन सकिँदैन’

नेपालखोज २०७८ मंसिर २२ गते १७:४८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो, की भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताए ।

अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने बताए । आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै सवारी साधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उनले आग्रह गरे । अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यनूतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिवद्धता समेत जनाए ।

अर्थमन्त्री शर्माले आफूले अर्थशास्त्र जानेको नभए पनि देशलाई आत्मनिर्भर बनाउनका लागि कुन बाटो लानुपर्छ भन्ने थाहा भएको बताए । देश सम्पन्न र आत्मनिर्भर नभइ जनताले सेवा सुविधा नपाउने मन्त्री शर्माले जिकिर गरे ।

त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताएका छन् । उपाध्यक्ष ढकालले सरकारले अर्थतन्त्रलाई बलियो बनाउनको लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्नु पर्ने बताए । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४५औं वार्षिक साधारणसभा आज र भोलि दुई दिनसम्म हुनेछ । सभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया