सोमबार, जेठ ६, २०८२

कांग्रेस महाधिवेशन हुन दुई दिन बाँकी, पौडेल पक्षले सभापतिको उम्मेदवार टुंगाे लगाउन सकेन

नेपालखोज २०७८ मंसिर २२ गते २०:२२

काठमाडाैं । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनका लागि रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार टुंगाे लगाउन सकेकाे छैन् । कांग्रेसकाे महाधिवेशन सुरु हुन अब जम्मा दुई दिन मात्रै बाँकी छ ।

आज दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उम्मेदवार बनाउने प्रयास विफल भएको हो । बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुनः बैठक बसेको थियो ।

सभापतिका उम्मेद्वार समेत रहेका कांग्रेस नेता प्रकाश मान सिंहको निवाश चाक्सीबारीमा बसेको दोस्रो बैठकले पनि साझा उम्मेदवार छान्न सकेन । सभापतिको उम्मेदवार बन्ने भनिएका नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालाले आफूहरु सहमतिको बाधक नबन्ने भन्दै आकांक्षीहरु शेखर कोइराला र प्रकाशमान सिंहलाई कुनै एक जनामा निर्णय लिन आग्रह गरिएको थियो ।

दुवै नेताले आफ्नो अडान नछोडे पछि पौडेल पक्षले साझा उम्मेदवार छान्न नसकेको हो । यससँगै संस्थापन इतर समुहले साझा उम्मेदवार दिने सम्भावना क्षीण बन्दै गएको छ । चाक्सीबारीको बैठक पछि संचारकर्मीहरुसँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासको लागि भोलि बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने जानकारी दिए ।

प्रतिक्रिया