आइतबार, जेठ ५, २०८२

अचम्म… श्रीमती कुट्नु जायज !

नेपालखोज २०७८ मंसिर २३ गते ११:१९

नयाँदिल्ली । श्रीमती कुट्नु घरेलु हिंसाको एउटा चरम रुप हो । कुनै पनि सभ्य समाजले यसलाई उचित ठहर्‍याउँदैन । यद्यपि आज पनि संसारमा यस्ता मानिसहरुको एउटा ठूलो जमात छ जसले श्रीमती कुट्ने कामलाई जायज ठहर्‍याउँछ । आश्चर्य त के छ भने यसमा सहमति जनाउनेहरुमा महिलाकै संख्या पनि उल्लेख्य छ । कुरा टाढाको पनि होइन हाम्रै छिमेकी मुलुक भारतको हो । १९१९ मा भातरमा एउटा सर्वेक्षण सुरु गरिएको थियो जसको प्रतिवेदन हालै सार्वजनिक गरिएको छ ।

तीन वर्ष लगाएर गरिएको यो सर्वेक्षण श्रीमतीलाई कुट्नु कति उचित हो भन्ने प्रश्नमा केन्द्रित थियो जसको परिणाम निकै आश्चर्यजनक र हैरान तुल्याउने खालको छ । सर्वेक्षणका क्रममा कैंयन् महिला तथा पुरुषले केही कारण दिँदै घरेलु हिंसाको यो रुपलाई जायज बताए । भारतको नेसनल फेमिली हेल्थको यो सर्भे १८ राज्य तथा केन्द्र शासित जम्मू-कश्मीरमा केन्द्रित थियो । सर्वेक्षण परिणामअनुसार घरेलु हिंसाको यो रुपलाई समर्थन गर्नेहरुले घरका सदस्यहरुको अनादर तथा घर अनि छोराछोरीको राम्रो हेरविचार नगरेको स्थितिमा श्रीमतीलाई कुट्नु अनुचित नहुने बताएका थिए ।

सर्भेक्षणमा सोधिएको मूल प्रश्नमा सहमति जनाउनेहरुलाई ७ स्थिति पनि दिइएको थियो जसबाट उनीहरु कस्तो स्थितिमा श्रीमती कुट्नु लाई जायज मान्छन् भन्ने कुराको जवाफ आउँथ्यो । ती स्थिति थिए- केही नभनी घर बाहिर जाँदा, घर वा बालबच्चाको उचित हेरविचार नगर्दा, श्रीमतीले आफूसँग बहस गर्दा, शारीरिक सम्बन्ध राख्न नमान्दा, खाना ठीकसँग नपकाउँदा, श्रीमतीले धोका दिएको शंका हुँदा, श्रीमतीले आफ्नो परिवारका सदस्यहरुको आदर नगर्दा ।

तेलंगाना राज्यका ८३.८ प्रतिशत महिलाले पुरुषले श्रीमती कुट्नुलाई उचित बताए । हिमाञ्चल प्रदेशका १४.८ प्रतिशत महिलाले मात्र त्यस्तो काम उचित भएको बताएर आफूलाई अग्रगामी साबित गरे । कर्नाटकका ८१.९ प्रतिशत पुरुष उत्तरदाताले श्रीमती कुटनुलाई उचित भनेका थिए । यस्ता कैंयन् राज्य छन् जहाँ ठूलो संख्यामा महिलाहरुले नै घरेलु हिंसालाई उचित ठहर्‍याए । यसमा आन्ध्र प्रदेश ८३.६ प्रतिशत, कर्नाटक ७६.९ प्रतिशत, मणिपुर ६५.९ प्रतिशत तथा केरल ५२.४ प्रतिशत छन् । हिमाञ्चल प्रदेश र त्रिपुराका धेरैजसो पुरुषले घरेलु हिंसाको विरोध गरे । यी राज्यमा श्रीमती कुट्नुलाई जायज मान्ने उत्तरदाता क्रमश: १४.२ प्रतिशत तथा २१.३ प्रतिशत थिए ।

यो सर्भेक्षण असम, आन्ध्र प्रदेश, बिहार, गोवा, गुजरात, हिमाञ्चल प्रदेश, जम्मू-काश्मीर, कर्नाटक, केरल, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, सिक्किम, तेलंगाना, त्रिपुरा तथा पश्चिम बंगालमा गरिएको थियो । यी राज्यमध्ये १३ वटा राज्यका बहुमत महिला उत्तरदाताले ‘सासू-ससुराको अनादर’ गर्दा पिट्नुलाई उचित बताएका थिए ।

पुरुषको घरेलु हिंसालाई उचित ठहर्‍याउने अर्को ठूलो कारण घर तथा सन्तानप्रतिको लापरबाही रह्यो । धोखा दिएको आशंकामा पिट्नुलाई सबैभन्दा कम उत्तरदाताले सही बताए । २०१५-१६ को यही सर्भेमा ५२ प्रतिशत महिलाले पुरुषले श्रीमती कुट्नु ठीक हो भनेका थिए भने ४२ प्रतिशत पुरुष मात्र यसमा सहमत थिए ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया