शनिबार, वैशाख १३, २०८२

महिन्द्रा अब ईभीमा केन्द्रित

नेपालखोज २०७८ मंसिर २३ गते १३:४५

काठमाडौं । मोटर उत्पादक महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले अब आफूलाई इलेक्ट्रिक भेइकलमा केन्द्रित गर्दै छ । प्राप्त जानकारीअनुसार समयमा काम भयो भने महिन्द्राले २०२७ सम्ममा १३ वटा नयाँ गाडी बजारमा उतार्नेछ जसमा आठवटा इलेक्ट्रिक भेइकल हुनेछन् । यसमा महिन्द्रा केयूभी १०० तथा एक्सयूभी ७०० पनि रहनेछन् । यसका अतिरिक्त महिन्द्राले नयाँ इलेक्ट्रिक मोडल पनि लन्च गर्नेछ जसको नाम एक्सयूभी ४०० रहनेछ । यो कार एक्सयूभी ३०० को इलेक्ट्रिक भर्सन हुनेछ । यद्यपि महिन्द्राले यसको आधिकारिक निर्णय भने गरिसकेको छैन ।

महिन्द्राले इलेक्ट्रिक एक्सयूभी ३०० लाई ईएक्सयूभी ३०० नाममा अटो एक्सपो २०२० मा प्रस्तुत गरेको थियो । यो ईभीको निर्माण मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा भइरहेको छ । यो इलेक्ट्रिक एसयूभीमा ३५० भोल्टको पावरट्रेन रहनेछ भनेपछि यसको ३८० भोल्टयुक्त दमदार मोडल पनि तयार गर्ने योजना छ । इलेक्ट्रिक एक्सयूभी ४०० को बेस मोडलको मूल्य टाटाको नेक्सोन ईभीबराबर हुनेछ भने यसको टप मोडलको मूल्य एमजी जेडएस ईभीबराबर हुन सक्छ ।

महिन्द्राले आफ्नो इलेक्ट्रिक कारमा एलजी कम्पनीको ब्याट्री सेल्स प्रयोग गर्ने निर्णय गरेको छ । महिन्द्राले आधुनिक लिथेनियम-आयन ब्याट्रीका लागि कोरियाली ब्याट्री निर्माता एलजीसँग साझेदारी गरेको छ । महिन्द्राको अपकमिङ एक्सयूभी ४०० ईभीको स्टाइल र डिजाइन पनि नयाँ हुने बताइएको छ । यो गाडी २०२३ भित्रमा सडकमा दौडन थाल्नेछ । यद्यपि कोरोनाको महामारी र चिप्सको अभावका कारण समयमा काम हुने कुरामा भने संशय छ ।

प्रतिक्रिया