भक्तपुरमा पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु

काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी)का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पहिलो पटक ई–पासपोर्ट वितरण सङ्कलन कार्यको हिजो सुरुवात गरेकी छन् ।
प्रजिअ शर्माले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको बताइन् । उनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने गरी सेवा सुरु भएको जानकारी दिइन् ।
सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि मात्रै आवेदन दिन पाउने छन् । यसका लागि रु पाँच हजार शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ । विभागले ६६ पृष्ठको राहदानी रु १० हजार शुल्क तिरेर लिन सकिन व्यवस्था गरे पनि भक्तपुरका हकमा भने तत्काललाई ३४ पृष्ठको मात्रै सङ्कलन गरिने भएको छ ।

प्रतिक्रिया