बिहीबार, वैशाख २०, २०८१

‘सबैले कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन महामन्त्रीमा उम्मेद्‌वारी दिने निर्णय गरेकाे हुँ’

नेपालखोज २०७८ मंसिर २३ गते १८:२१

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेद्वार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन् । नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने निर्णय गरेको पनि स्पष्ट पारे ।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच आफ्ना अवधारणा–पत्र सार्वजनिक गर्दै उनले चुनाव आफैं जित्ने जनताको रोजाइको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताए ।

नेता थापाले भने, ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैं जितिन्छ । आफैं आउँछन् मतदाता । लाइन लागेर आउँछन् । कांग्रेसलाई छान्न आउछन्, रोज्न आउँछन् । कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’

नेता थापाले आफू महामन्त्री भए कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रुपमा स्थापित गराउने बताए । उनले महामन्त्रीको रुपमा आफूले कांग्रेसलाई प्रश्न होइन, उत्तर दिने, समस्या होइन, समाधान दिन सक्ने पार्टी बनाउने संकल्प लिएको बताए ।

त्यसका लागि आफूले अघि सारेको अवधारणाले काम गर्न पनि नेता थापाले बताए । नेता थापाले चुनौतीपूर्ण रुपमा देखा पर्दै गएको डमोक्रेसीको संरक्षणको प्रत्याभूति कांग्रेसले दिनुपर्ने बताए ।

प्रतिक्रिया