‘नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राख्यो’

नेपालखोज २०७८ मंसिर २४ गते १५:२०

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएकाक छन् ।

शुक्रवार नेकपा (एमाले) वाग्मती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका हुन् ।

नेपालमा कुटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कुटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे । नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफुविरुद्ध लेखिएको पनि उनले बताए । अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए ।

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताए । एमालेको ‘समृद्ध नेपाल, सुखि नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाई छ ।

एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरे । नेपाली कांग्रेसका युवा नेता तथा १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को नारा अघि सारेका थिए । ओलीले सोही नाराप्रति टिप्पणी गरेका हुन् ।

उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण काम गर्ने उल्लेख गरे । एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पुरै देशलाई नै कामरेडमय बनाउन उनले नेताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया