प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

नेपालखोज २०७८ मंसिर २४ गते २१:३४

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामाको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन भएको छ । ७३औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको आयोजनामा अनैतिक प्रधानन्यायाधीश जबराको शिघ्र राजीनामारबहिर्गमनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएको र अनैतिक प्रधान न्यायाधीश पदमा रहेका आपत्तिजनक भएको भन्दै प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने, राजीनामा नदिए बहिर्गमनका लागि महाभियोग लगाउन पनि शान्ति समाजले सम्वद्ध सबै दलहरुलाई आग्रह गरेको छ ।

धर्नामा कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कुकर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशिल विषयमा दलहरु मौन रहनु दलहरुको कमजोरी भएको बताए ।

त्यस्तै, शान्ति समाजका सल्लाहकार एवं पूर्व सभापति अधिवक्ता होमकान्त चौलागाईले मानव अधिकारको संरक्षणका लागि अन्तिम निकायको रुपमा रहेको सम्मानित सर्वोच्च अदालतको नेतृत्वमा हाल विचलन आएकोले प्रधानन्यायाधीश जबराको शिघ्र बहिर्गमन आवश्यक भएको बताउँदै यसलाई न्यायालय शुद्धिकरणको प्रारम्भका रुपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया