सोमबार, जेठ ६, २०८२

कांग्रेस महाधिवेशन : उम्मेद्वारी दर्ताको जोड-घटाउमा नेता

नेपालखोज २०७८ मंसिर २५ गते ९:४८

काठमाडौँ । उम्मेद्वारी दर्ताको समय तोकिएका बेला नेताहरू भने विभिन्न समूह बनाएर कसले कुन पद लिने भन्ने जोड-घटाउमा छन् । विभिन्न समूहका वैठक विभिन्न ठाउँमा बोलाइएको छ । संस्थापन पक्षको बैठक भने बालुवाटारमा बिहान साढे ११ बजेपछि बोलाइएको छ । यस वैठकले उम्मेद्वारको अन्तिम टुंगो लगाउने छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेद्वार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।

यता मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सह-महामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् । मनोनयनका लागि लाग्ने रकम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै प्रभु बैंक अस्थायी रुपमा स्थापना गरेर समितिको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले वताए ।

उम्मेद्वारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेद्वारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते विहान ८ बजेदेखि हुनेछ ।

पार्टीको संस्थापन समूह र संस्थापन इतर समूहले प्यानलगत रुपमा उम्मेद्वारी दिने बताइएको भए पनि अहिलेसम्म प्यानल घोषणा गरिएको छैन् । हालसम्म केन्द्रीय सभापतिमा प्रधानमन्त्री एवं वतर्मान पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महमन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला मुख्य आकांक्षी देखिएका छन् । अन्य पदाधिकारी तथा सदस्यमा भने नेताहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ ।

मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेद्वारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

यस अघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । उदघाटन सम्पन्न भएपछि शुक्रबार राति ९ बजे सुरु भएको बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेस गरिएको थियो ।

प्रतिक्रिया