मंगलबार, वैशाख २५, २०८१

‘मुलुकमा फेरि राजतन्त्र स्थापित हुने कुरा असम्भव’

नेपालखोज २०७८ मंसिर २५ गते १४:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् ।

समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसंगति हुर्काएको उल्लेख गर्दै उनले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडाको समाधान गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।

समाजवादी प्रेस संगठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजमा विद्यमान जातीय विभेद, महिला हिंसा, अन्याय, अत्याचार तथा उत्पीडनको अन्त्य गर्दै नागरिकलाई गास, बास र कपासको सुनिश्चितता गर्नु अहिलेको मुख्य कार्यभार रहेको जनाएका छन् ।

लोकतन्त्रका मूल्यमान्यताको रक्षा गर्दै समाज, राज्य सत्ता र राजनीतिक दलको लोकतान्त्रीकरण गर्नु नै जनताको बहुदलीय जनवाद भएको चर्चा गर्दै उनले मदन भण्डारीको यो विचारलाई स्थापित गर्दै पार्टी अगाडि बढेको उल्लेख गरेका छन् ।

उनले पार्टीलाई वैचारिकरुपमा बलियो र गतिविधिका हिसाबले सशक्त बनाएर आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको दिशामा अगाडि बढाउने काम भइरहेको जनाउँदै यसले गुणात्मक उपस्थिति बलियो बनाउने बताए ।

कम्युनिष्ट पार्टीलाई विसर्जनमा जान नदिनका लागि नयाँ क्रान्तिकारी पार्टीको आवश्यकता देखिएका कारण नै समाजवादी पार्टी गठन गरिएको अध्यक्ष नेपालले प्रष्ट पारेका छन् । राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु मिलेर जाने सहमति भएको पनि उनले जानकारी गराएका छन् ।

मुलुकमा राजतन्त्र फेरि स्थापित हुने कुरा असम्भव रहेको दोहोर्याउँदै इतिहासमा हराएका शक्तिबारे बहस नगर्न आग्रह अध्यक्ष नेपालले आग्रह गरेका छन् । ‘अब राजतन्त्रको काम छैन, इतिहासमा समाप्त भइसकेको सामन्तवादलाई फेरि जगाउने काम नगरौँ, अग्रगामी सोँच राखेर अघि बढौँ’, उनले भने ।

प्रतिक्रिया