आइतबार, वैशाख २३, २०८१

राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

नेपालखोज २०७८ मंसिर २६ गते ७:११

धनुषा । राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको वटेश्वर गाउँपालिकामा यही मंसिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अंकका विरुद्ध ५४ अंक ल्याई लुम्बिनी प्रदेशमाथि भारी अंक अन्तरले विजयी भएको हो ।

प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई रु एक लाख ५०५, द्वितीय हुनेलाई ५० हजार ५०५ रूपैयाँ र तृतीयलाई २५ हजार ५०५ रूपैयाँ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ ।

वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाए ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले खेलकुदले ठाउँको पहिचान गराउनुका साथै देशको नामसमेत प्रख्यात गराउन सहयोग पुर्‍याउने भएको हुँदा यस्ता किसिमका प्रतियोगितामा गाउँपालिकाले संयोजन गरेको बताए । रासस

प्रतिक्रिया