बन्दरगाह र आईसीपीको सबै काम अनलाइनबाटै, अब क्यास र पेपरलेस (भिडियो रिपोर्ट)

काठमाडौं । वीरगन्ज सुक्खा बन्दरगाह र आईसीपी दुवै कार्यालयको सबै काम माघ १ गतेबाट अनलाइन प्रणालीबाटै गरिने भएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सबै कारोबार क्यासलेस र पेपरलेस माध्यमबाट गरिने तयारी गरेको जानकारी दिए । उनका अनुसार सुक्खा बन्दरगाहमा माघ १ र आईसीपी कार्यालयमा पुस १ गतेबाटै अनलाइन कारोबार सुरु गरिनेछ ।
भन्सार विभागले बन्दरगाह र आईसीपीको काम कागज र नगदरहित बनाउन सबै पूर्वाधारको प्रक्रिया पूरा गरिएको भन्सार प्रमुख पौडेल बताए । उनले नेपाल विश्वमै सबैभन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको पनि बताए ।
अब कागजी काम हरेक क्षेत्रमा कम गर्ने विभिन्न नयाँ प्रविधिहरुको प्रयोग बढाउँदै जानुपर्नेमा उनको जोड थियो । आईसीपी, बन्दरगाह भन्सार कार्यालयमा कागज तथा नगदरहित बनाउँदा व्यवसायीको समय र खर्च पनि कम हुने उनको भनाइ थियो ।
पौडेलले सुक्खा बन्दरगाहमा पूर्वाधारको कमि तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको पनि बताए । उनले भन्सारमा विदेशबाट आएका समान तथा ट्रक/कन्टेनर स्क्यानका लागि ल्याइएको मेसिन प्राविधिक नहुँदा विगत १० बर्षदेखि त्यतिकै थन्किएर बसेको पनि बताए । चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा मेसिन प्रयोगविहीन भएर बसेको पौडेलले बताए ।

भारतबाट आएका समान तथा ट्रक स्क्यान गर्ने समस्या रहेको भन्दै पौडेलले मेसिन चलाउने प्राविधिकको अभावको कारण भौतिक रुपमै कन्टेनरहरुको समान अनुमानित गर्नुपर्ने, भन्सारमा कन्टेनरहरु थुप्रिएर बस्ने, जाम हुने गरेको बताए । बिग्रिएको मेसिन बनाउने प्राविधिक भारत तथा चीनबाट नै ल्याउनुपर्ने भएकाले छिटो छरितो ढंगले काम हुन नसकेको उनको भनाइ छ ।
त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका वीरगन्ज प्रमुख कमल ज्ञवालीले आईसीपीमा सञ्चालन र व्यवस्थापन गर्ने काम द्रुत गतिमा भइरहेको बताए । उनले आईसीपी सञ्चालनले मुख्य उद्देश्य समय र लगातलाई कम गरी समयलाई सहजीकरण गर्ने भएको बताए । यसले पछिल्लो समय व्यवसायीलाई धेरै सहज भइरहेको पनि उनको भनाइ थियो ।

समितिले भारतबाट आयात भएको सवारीहरुको व्यवस्थापन गर्ने र गाडीको रुजु गर्ने काम गर्ने गरेको छ । वीरगन्ज भन्सारले विदेशबाट आयात भएका समानलाई नियमन गर्न ग्रिन, एल्लो, ब्लु र रेड लेन बनाएर कार्य गरिरहेको छ ।

प्रतिक्रिया