‘देउवाले हारे आगामी निर्वाचनमा समेत असर पर्छ’

नेपालखोज २०७८ मंसिर २६ गते २०:१७

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा शेरबहादुर देउवाले हार्दा आगामी निर्वाचनमा समेत असर पर्ने भन्दै देउवालाई जिताउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सभापतिमा देउवालाई मत हाल्न आग्रह गरेका हुन् ।

उनले देउवाकै नेतृत्वमा आगामी निर्वाचनमा जानुपर्ने र सभापतिमा हारेको प्रधानमन्त्री निर्वाचनमा जाँदा मनोवैज्ञानिक रुपमा असर पर्ने भएकाले पार्टीको मनोबललाई उच्च बनाउनका लागि देउवालाई जिताउ नै पर्ने बाध्यात्मक अवस्था रहेको बताए । एक व्यक्ति दुई कार्यकाल पार्टी सभापति हुनसक्ने व्यवस्था विधानमै भएको भन्दै उनले देउवालाई जिताउनु पर्ने बताए ।

नेता सिटौलाले शेरबहादुर देउवा नेतृत्वको सम्पूर्ण प्यानललाई नै मत दिएर विजयी बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरे । देउवालाइ सभापतिमा जिताएर उत्साहित प्रधानमन्त्री लिएर निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया