शनिबार, वैशाख २९, २०८१

मतदाताको हातमा २९ वटा मतपत्र, भोट हाल्नै झन्डै एक घण्टा !

नेपालखोज २०७८ मंसिर २७ गते १२:५४

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मतदाताहरूले २९ वटा मतपत्रमा झन्डै एक घण्टा लगाएर मतदान गर्दै छन् । मतदाताले गोप्य मतदान स्थलमा बसेर उम्मेद्‌वारको लामो सूची हेर्दै मतदान गर्दा झन्डै एक घण्टा लाग्ने जनाइएको छ । उम्मेद्‌वारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिएको छ ।

एक हजार बुथबाट ४७ सयभन्दा बढी मतदाताले आज मतदान गर्दै आफ्नो मनपर्ने नेता चुन्नेछन् । मतदान आज दिनैभरि चल्नेछ ।

कांग्रेस महाधिवेशनमा १३ पदाधिकारी र ११९ सदस्यसहित १३२ पदका लागि निर्वाचन हुँदै छ । पदसंख्या १३४ भएकामा प्रदेश २ बाट केन्द्रीय कार्यसमितिमा दुईजना भने निर्विरोध भइसकेका छन् । अब ४८९ उम्मेदवार नेतृत्वका लागि चुनावी मैदानमा छन् । आजको निर्वाचनबाट १३ पदाधिकारीसहित १३२ जनाको फैसला हुनेछ ।

कांग्रेस महाधिवेशनमा मतदान सुरु

अहिले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा रहेका मतदान केन्द्रमा मतदाता लाइनमा उभिएका छन् । उम्मेदवारहरू भने प्रतिनिधि उभिएको ठाउँमै पुगेर भोट माग्न व्यस्त छन् । बिहान ८ बजेदेखि मदतान सुरु हुने भनिए पनि ढिलो गरी मात्रै मतदान सुरु भएको छ ।

निर्वाचनको प्रक्रियामा देशका १६५ निर्वाचन क्षेत्र र भ्रातृ तथा शुभेच्छुक संघ–संस्था तथा विदेशसहित जनसम्पर्क समितिबाट समेत गरी चार हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्वको लागि मतदान गर्दै छन् ।

पार्टी विधानलाई परिमार्जन गरेको कांग्रेसले दुईजना उप-सभापति र दुईजना महामन्त्री पनि निर्वाचित भएर आउने व्यवस्था गरेको छ । त्यस्तै समावेशी सिद्धान्तका आधारमा आठजना सह-महामन्त्री चयन हुनेछन् । केन्द्रीय समितिमा एक जना कोषाध्यक्ष र ३३ जना सदस्यबाहेक निर्वाचन हुने कांग्रेसको विधानमा उल्लेख छ ।

हेर्नुहोस् उम्मेदवारको अन्तिम नामावली :

प्रतिक्रिया