शुक्रबार, वैशाख २८, २०८१

‘संस्कृति बचाऔं’ राष्ट्रिय महाअभियान सुरु

नेपालखोज २०७८ मंसिर २७ गते १३:५०

काठमाडौं । २०५३ देखि नै सामाजिक सांस्कृतिक र भ्रष्टाचारविरुद्ध विभिन्न चेतनामूलक अभियान सञ्चालन गर्दै आएको परिवर्तन नेपालले नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान-२०७८ घोषणा गरेको छ । यो अभियानको शुभारम्भ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल र हास्य अभिनेत्री वसुन्धरा भुसालले अभियानको चित्र अंकित फोटो फ्रेम अनावरण र दीप प्रज्वलनसहित गरिएको हो ।

महाअभियानका संयोजक मोहन निरौलाले राजनीनिक दल, सांस्कृतिक सम्पदा, पुरातात्त्विक सम्पदा, मठ-मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्व्यक्तिहरुसँग अन्तरक्रिया गर्नेलगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए ।

उनले यो महाअभियानको कार्यक्रम गैरमुनाफा र गैरव्यावसायिक रहने जानकारी दिएका छन् । महाअभियान प्रारम्भ भएको तीन महिनामा वक्तव्यमार्फत कार्यप्रगति पनि सार्वजनिक गरिने उनले बताए । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उनको भनाइ छ ।

कलाकार तथा फिल्म निर्देशकसमेत रहेका निरौलाले भने, ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनुपर्छ भद्र हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ नेपाली कला, साहित्य, चलचित्रहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि उनको आग्रह छ ।

‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ समारोहका प्रमुख अतिथि तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री वसन्धुरा भुसालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् ।

त्यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरेकी छन् । परिवर्तन नेपालको संस्थापक अध्यक्षसमेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउनेसमेत वाचा गरेकी छन् ।

प्रतिक्रिया