शुक्रबार, वैशाख २८, २०८१

‘प्रचण्ड र माधव कम्युनिस्ट आन्दोलन कमजोर बनाउने मिसनमा लागे’

नेपालखोज २०७८ मंसिर २७ गते १५:४६

ललितपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन् ।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले दाहाल र नेपालले पुँजिवादको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको दावी गरेका छन् । उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाएका छन् ।

महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेको पनि उल्लेख गरे ।महासचिव पोखरेलले एमालेलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको बताएका छन् ।

एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ । महासचिव पोखरेलले षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकतामाथि जोड दिएका छन् । पार्टीले अघि सारेको एजेण्डा र लक्ष्यका कारण बहुमत जनताको समर्थन प्राप्त गर्न सम्भव रहेको महासचिव पोखरेलको भनाइ छ ।

प्रतिक्रिया