शुक्रबार, वैशाख २८, २०८१

देउवा पहिलो चरणमै विजयी हुने गृहमन्त्री खाँणको दाबी

नेपालखोज २०७८ मंसिर २७ गते १६:१६

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने दाबी गरेका छन् । आज (सोमबार) भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने दाबी गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत खुलासा गरेका छन् । नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरेको प्रष्ट पारे । उनले प्रधानमन्त्री देउवालाई साथ दिनु आफ्नो दायित्व भएको पनि प्रष्ट पारेका छन् । नेता खाँडले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने दाबी पनि गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका नेता शशांक कोईरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने जनाए । आफू जहिल्यै पनि काँग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उनले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताए ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको जनाएका छन् । उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको जनाएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ । आज (सोमबार) पार्टी नेतृत्व चयनको लागि मतदान भएको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया