प्राविधिक नभएपछि थन्कियो भन्सारको ‘स्क्यानर’

काठमाडौं । विदेशबाट आएका समान तथा ट्रक/कन्टेनर स्क्यानका लागि वीरगन्ज भन्सारमा चीनको अनुदानमा ल्याइएको मेसिन विगत १० वर्षदेखि थन्किएको छ । मेसिन अनुदान दिए पनि दक्ष जनशक्ति नहुँदा आफ्नै खर्चमा दुई नेपाली प्राविधिकलाई प्रशिक्षणका लागि चीन बोलाएको थियो । प्रशिक्षणपछि ती दुई भन्सारका कर्मचारीले स्क्यानर मेसिन चलाउन र सञ्चालन गर्न सक्ने भए पनि मेसिनलाई प्रयोगमा ल्याउन नसकिएको वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
उनका अनुसार दुई प्राविधिकमध्ये एकजनाको अवकाश भइसकेको छ भने अर्का प्राविधिकको अन्य कार्यालयमा सरुवा गरिएको छ । बाहिरी मुलुकबाट आएका सामान ट्रकसहित स्क्यान गर्ने मेसिन चलाउने प्राविधिक नहुँदा अहिले भौतिक रुपमै कन्टेनरहरुका समान जाँच गर्न भन्सारका कर्मचारी बाध्य रहेको पौडेल बताउँछन् । उनले प्राविधिकको अभाव र मर्मतमा समस्याका भएकै कारण चीन सरकारबाट अनुदान प्राप्त स्क्यान मेसिन सञ्चालनमा आउन नसकेको बताए ।
‘स्क्यानर मेसिन चलाउन नसक्नुमा दुईवटा कारण छन् जसमा जति बेला नेपालको भन्सार कार्यालयमा अनुदानमा स्क्यान मेसिन ल्याइयो त्यतिवेलामा उहाँहरुले नेपालका टेक्निसिनहरुलाई मेसिन चलाउन सिकाइदिनु भएन,’ पौडेलले भने, ‘नसिकाइदिएपछि नेपालका दुईजना प्राविधिकलाई स्क्यान प्रविधिबारे अध्यन गर्न पठाइयो तर ती दुईमध्ये एक जना रिटायर भए अर्काको सरुवा भयो ।’ अनुदानमा आएको स्क्यान मेसिन नेपालमा आएदेखि सञ्चालन हुन नपाएको उनले जनाए । पौडेलका अनुसार स्क्यान मेसिनको धेरै चर्चा र खोजी हुने भए पनि सरकारले चासो नदिँदा यस्तो अवस्था आएको हो ।

‘नेपालमा नयाँ मेसिन ल्याएर चलाउन पनि २५ मिलियन डलर पर्ने देखियो । महँगो स्क्यानर ल्याए पनि नेपालमा भने जसरी बिग्रिएको खण्डमा बनाउने प्राविधिक छैनन्,’ भन्सार अधिकृत पौडेलले भने, ‘स्क्यान मेसिनले एउटा कन्टेनर स्क्यान गर्न २० मिनेट लगाउने र सबै कन्टेनर स्क्यान गर्ने सहज पनि देखिँदैन ।’
प्रतिक्रिया