कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापतिको मतगणना जारी, बढ्यो मतान्तर

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूवातदेखि अग्रता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
बिहान साढे ६ बजेसम्म दुई हजार छ मत गणना हुँदा सभापति देउवाले ९५८, सभापतिका अरु उम्मेद्वार क्रमशः डा शेखर कोइरालाले ७२६, प्रकाशमान सिंहले १७१, विमलेन्द्र निधिले ११७ र कल्याण गुरूङले सात मत प्राप्त गर्नुभएको समितिले जनाएको छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
पहिलोपटक कुनै पनि उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुनेछ ।
तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेद्वार विजयी हुने विधानमा व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मत गणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

प्रतिक्रिया