चुनावी मैदानमा देउवा-कोइराला : कसको पल्लाभारी कति ?

नेपालखोज २०७८ मंसिर २८ गते १०:५०

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा दोस्रो चरणको निर्वाचनको माहोल बढेको छ । विधानअनुसार सभापतिमा आवश्यक मत नपुर्‍याएका उम्मेद्‍वारहरू आन्तरिक जोड-घटाउमा लागेका छन् । कम मत ल्याएका उम्मेद्‌वारलाई मनाउने कसरतमा देउवा र कोइराला पक्ष लागेका छन् ।

दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी कोइराला साझा उम्मेद्‌वारका रुपमा आए देउवालाई जित्न हम्मे पर्ने देखिएको छ । कोइरालालाई सभापतिमा जितको नजिक पुग्न नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङसँग सहमति गर्नुपर्ने देखिन्छ । सहमति भए देउवासँग गतिलो प्रतिस्पर्धा हुनेछ ।

यस्तै सभापति देउवाले पनि निधि, गुरुङ र सिंहसँग आवश्यक मत प्राप्त गर्न सहमति गर्ने सम्भावना पनि छ । तर तीनै नेताहरूले पहिलो चरणको निर्वाचनअघि देउवाविरुद्ध दिएका अभिव्यक्तिले प्रश्नचिह्न उब्जाइ दिएको छ । पहिलो चरणको सिंह र निधिको मत दोस्रो चरणमा निर्णायक हुने देखिन्छ । सिंह र निधि देउवानिकट भए पनि पछिल्लो समय टाढिएकाले उनीहरूको मत कोइरालातिर जाने धेरै सम्भावना छ ।

जारी महाधिवेशनमा देउवा र कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन भएको थियो । देउवालाई सभापतिमा जितका लागि २३ सय ४१ मत आवश्यक थियो । यो ८३ मतले मात्रै कमी हो ।

पहिलो चरणको हिजो (सोमबार) भएको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले २२ सय ५८ मत प्राप्त गरे । देउवालाई सभापति हुन ८३ भोट कम भएको हो । देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १७ सय २९ मत प्राप्त गरे । यस्तै, सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

हिजो (सोमबार) बिहानदेखि रातिसम्म भएको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मत खसेको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । अन्य पदाधिकारीको लागि भने पचास प्रतिशत मत कटाउनुपर्ने प्रावधान छैन ।

प्रतिक्रिया