बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु

लन्डन । बेलायतले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण आफ्नो देशमा एकजना मानिसको मृत्यु भएको पुष्टि गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन आफैंले यससम्बन्धी जानकारी सार्वजनिक गरेका छन् ।
अहिले दक्षिण अफ्रिकाका अतिरिक्त बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट निकै तीव्र छ । डब्ल्यूएचओको जानकारीअनुसार, १० डिसेम्बरसम्म यो भेरियन्टका कारण कहीं कतै कसैको मृत्यु भएको थिएन । दक्षिण अफ्रिकामा एक सातामा मृत्यु हुनेको संख्या दोब्बर भए पनि त्यहाँ ओमिक्रोन भेरियन्टबाट कसैको ज्यान गएको कुरा भने पुष्टि हुन सकेको छैन । दक्षिण अफ्रिकी सरकारले अहिलेसम्म ओमिक्रोन भेरियन्टका कारण कसैको मृत्यु भएको जानकारी नदिएको स्थितिमा बेलायतमा भएको मृत्यु अहिलेसम्म ओमिक्रोन भेरियन्टका कारण संसारमा भएको पहिलो आधिकारिक मृत्यु मान्न सकिन्छ ।
हालैको एक अनुसन्धानमा ओमिक्रोन भेरियन्टका कारण बेलायतमा अप्रिल २०२२ सम्ममा ७५ हजार मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएको थियो ।
द गार्जियनका अनुसार बेलायतका स्वास्थ्यमन्त्री साजिद जावेदले बेलायतमा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको तथा यसले दुईदेखि तीन दिनमा दोब्बर संक्रमित गराइरहेको बताएका छन् । जावेदले ओमिक्रोनका कारण बेलायतमा १० जना अस्पताल भर्ना भएको जानकारीसमेत दिएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेका छन्- हामी अहिले नै ओमिक्रोन कोरोना भाइरसको कम शक्तिशाली भेरियन्ट हो भन्ने निष्कर्षमा पुग्न सक्दैनौं । यो निकै तीव्र गतिमा फैलिरहेको हुनाले अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा कोरोनाविरुद्धको खोपको बुस्टर डोज लिएर सुरक्षित हुनु नै हो ।
ओमिक्रोनको फैलिने दर बढी भए पनि जिनोम सिक्वेंसिङको सुस्त गतिका कारण यसको असर निकै कम देखिन्छ परिणाम स्वरूप मानिसहरु अस्पताल वा चिकित्सक कहाँ पुग्दैनन् । यो स्थितिले ओमिक्रोन भेरियन्टबाट संक्रमितहरुको सही तथ्यांक पनि आउन नसकेको विज्ञहरुले बताएका छन् ।
प्रतिक्रिया