६ प्रतिशतले बढेपछि निर्धारित समयअगावै नेप्से बन्द, झन्डै २ अर्बको सेयर किनबेच

काठमाडौं । लगातार घटेको नेप्सेले आज भने छलाङ मारेको छ । अघिल्लो दिन ७९ दशमलव ५७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज भने कारोबार खुलेदेखि नै लगातार बढ्न थालेको थियो । कारोबार खुलेको पहिलो दुई घण्टामा नै नेप्से छ प्रतिशतले बढेपछि निर्धारित समय भन्दा झण्डै डेढ घण्टा अघि नै नेप्से बन्द भएको छ ।
कारोबार खुलेको केही समयमा नै अर्थात १२ः३८ बजे नै नेप्से पाँच प्र्रतिशतले बढेको थियो । सोही आधारमा ४० मिनेटको लागि नेप्से बन्द भएको थियो । ४० मिनेट पछि नेप्से खुलेपनि बढ्ने क्रम भने रोकिएन । खुलेको केही समयमा नै नेप्से छ प्रतिशतले बढेपछि नेप्से आज दिन भरको लागि बन्द भएको छ । जसअनुसार नेप्से आज एक सय ३७ दशमलव १८ अंकले अर्थात छ दशमलव एक प्रतिशतले बढेर २४ सय १८ दशमलव ८४ अंकमा पुगेको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ७२ अर्थात पाँच दशमलव १९ प्रतिशतले बढेर चार सय ६० दशमलव ३० अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरुको २९ हजार ६४ पटकको कारोबारमा ४० लाख ८५ हजार नौ सय ५६ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक उच्च अंकले बढेर नेप्से पुरै हरियोे भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ६८ दशमलव पाँच अंकले बढेर १६ सय ६५ दशमलव ४७ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि छ सय ४५ दशमलव १८ अंकले बढेर १० हजार चार सय ३५ दशमलव ८३ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि छ सय ६१ दशमलव ६९ अंकले बढेर १२ हजार आठ सय १६ दशमलव ९४ अंकमा चढेकोमा विकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादन मुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज वरुण हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय चार रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा एनआईसी एशिया ब्लु चिप फण्डको प्रतियुनिट सेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेर पाँच सय ९९ रुपैयाँ ७० पैसामा कारोबार भएको छ ।
त्यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १४ सय ६० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड आठ लाख तीन हजार छ सय ९५ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबाररकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया