राति १० बजेदेखि गणना सुरु हुने, मध्यरातिसम्म नतिजा घोषणा गर्ने तयारी

नेपालखोज २०७८ मंसिर २८ गते २१:१७

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको गणना आज राति नै हुने भएको छ । अहिलेसम्म तीन हजार जनाभन्दा धेरैले मतदान गरेका छन् । मतदान सकिए पछि मतगणना सुरु गरेर मध्यरातिसम्म मत परिणाम सार्वजनिक गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार सात सय ४३ जना प्रतिनिधि रहेकामा सोमवार पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो ।

पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको हो । बाँकी तीनै जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् ।

प्रतिक्रिया