यसरी दुरुपयोग हुँदो रहेछ सामाजिक सुरक्षा भत्ता !

नेपालखोज २०७८ मंसिर २८ गते २२:३१

काठमाडौं । राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक र दलित ज्येष्ठ नागरिकलाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै फर्जी कागजात बनाएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

महोत्तरीको साविक नमूना गाउँ विकास समितिको कार्यालय गौशालाका तत्कालीन सचिव नागेश्वर रायले आफैँले हस्ताक्षर गरी राज्यले उपलब्ध गराएको रकम बुझ्ने गरेको अनुसन्धानमा खुलेको छ । आर्थिक वर्ष २०६७÷०६८ मा जिल्ला विकास समितिको कार्यालय जलेश्वरले उपलब्ध गराएको रकम दुरुपयोग गरेको आयोगको ठहर छ ।

भर्पाइको बुझी लिनेको सहीछाप महलमा आफैँले र अरु व्यक्तिलाई समेत औँठाछाप गर्न लगाई रु १२ लाख ८६ हजार ८०० बराबरको भ्रष्टाचार गरेको पाइएको छ । आयोगले तत्कालीन सचिव नागेश्वरविरुद्ध बिगोबमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लहानमा कार्यरत लेखा प्रमुख विष्णुप्रसाद गुप्ताविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मिटररिडर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र हेल्पर सत्यनारायण साहले पाउने रकममा बदमासी गरेको पाइएको छ ।

गुप्ताले ठाकुरको नामको रु आठ लाख सात हजार ३६० को चेक आफ्नै खातामा जम्मा गर्न लगाएको र सत्यनारायण साहको रु एक लाख २४ हजार २०० बराबरको चेक कार्यालय सहायकलाई सटही गर्न लगाई आफैँले लिएको तथा बीमाबापतको रकम पाउँदैनौँ भन्दै पदीय दुरुपयोग गरेको आयोगको अध्यनबाट पुष्टि भएको छ ।

बिमा वापतको रकम नदिने मनसायका साथ लेखा प्रमुखले भ्रष्टाचारजन्य गतिविधि गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । यसैगरी गलत विवरण पेश गरी शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको खुल्ला परीक्षामा सहभागी भई नियुक्त समेत भएको र सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मनकला चौलागाईं आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आचार्यले तलब भत्ताबाट लिएको रु छ लाख ७४ हजार ५११ बराबरको बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिए।

प्रतिक्रिया