मंगलबार, वैशाख १६, २०८२

मेगा बैंकको ११औं वार्षिक साधारणसभा : १२.०७ प्रतिशत लाभांश पारित

नेपालखोज २०७८ मंसिर २८ गते २३:५५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा आज सम्पन्न मेगा बैंकको एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पूँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँया ३८ पैसा लाभांश पारित गरेको हो ।

त्यसमध्ये चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैँया ७६ पैसा बोनस सेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंया ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ । साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।

त्यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए ।

त्यसैगरी, काठमाडौंको विशालनगरमा आगामी तीन वर्ष भित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए । अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवद्र्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई सम्वृद्ध बनाउँदै आएको स्मरण गरे । जस अन्तर्गत यस आर्थिक बर्ष २०७७/०७८ मा एक अर्ब एक करोड सत्र लाख पच्चीस हजार पाँच सय त्रिहत्तर रुपैया राजश्व दाखिला गरेको उनले बताए ।

उनका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१ प्रतिशत बढी राजश्व दाखिला गरेको छ । आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघिय / प्रादेशिक वा पालिका स्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार/उपचारार्थ खर्च गर्ने नीति लिएको छ ।

शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्‍याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित वडा/पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको बताए । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैँयाले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैँया पुगेको छ ।

त्यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रुपैँयाले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैँया पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सिइओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुटलगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताए ।

सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ५ अर्ब ७४ करोड रुपैंया सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ । दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सिइओ खुञ्जेलीले बताए ।

बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै सिइओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरु सञ्चालनमा ल्याइएको जानकारी दिए । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याएको उनले बताए ।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०३ वटा शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

प्रतिक्रिया