आइतबार, जेठ ६, २०८१

ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगेको डब्ल्यूएचओको आंकलन

नेपालखोज २०७८ मंसिर २९ गते १०:१८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरिअन्ट विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने जनाएको छ । ७७ देशमा पुष्टि भइसकेको यो निकै उत्परिवर्तित भेरिअन्ट तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा हुनसक्ने डब्ल्यूएचओले जनाएको छ । डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई हल्का रुपमा लिएकोमा आफू चिन्तित बनेको बताएका छन् ।

डा. गेब्रेयससले सङ्क्रमणको सामना गर्न र आफ्ना स्वास्थ्य प्रणालीलाई बचाउन देशहरूलाई तिब्र गतिमा काम गर्न आग्रह गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै डा टेड्रोसले ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरिअन्टमा नदेखिएको दरमा भइरहेको बताए ।

यस भेरिअन्टसँग सामना गर्न कयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका बेला डा टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याए । उनले बूस्टरहरूले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भए पनि केलाई प्राथमिकता दिने कि नदिने भन्ने प्रश्न रहेको बताए ।

यस भेरिअन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । जससँगै कयौँ देशहरूले दक्षिण अफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन । डब्ल्यूएचओ प्रमुखले केही समीक्षाले अबका केही दिनमै ओमिक्रोन युरोपमा केही देशमा सबैभन्दा प्रभावी भेरिअन्ट हुनसक्ने संकेत गरेको बताएका छन् ।

फाइजर र बायोएनटेकको पछिल्ला अध्ययनले सुरुवाती स्ट्रेनमा भन्दा खोपले निकै कम रोगप्रतिरोधी तत्व विकास गर्ने तर त्यसलाई तेस्रो बूस्टर मात्राले सामना गर्न सक्ने देखाएको थियो । -बीबीसी

प्रतिक्रिया