मंगलबार, वैशाख १६, २०८२

संकटमै पत्रकारिता !

नेपालखोज २०७८ मंसिर २९ गते १३:३०

काठमाडौं । न्युयोर्कस्थित मिडिया वाचडग ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ को एउटा नयाँ रिपोर्टअनुसार वर्ष २०२१ मा (२०२१ जनवरी १ देखि डिसेम्बर १) संसारभर २९३ पत्रकार गिरफ्तार भई जेल चलान गरिए । जुन अहिलेसम्मकै उच्च तथ्यांक हो ।

कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे) भन्छ- यसबीच २४ पत्रकार समाचार संकलनका क्रममा मारिए भने थप १८ जनाको हत्या संदीग्ध परिस्थितिमा भयो । सीपीजेका अनुसार पत्रकारहरुलाई जेलमा राखिनुको कारण अलग-अलग देशमा अलग-अलग बताइए पनि यसले राजनीतिक उथल-पुथल तथा स्वतन्त्र रिपोर्टिङप्रतिको बढ्दो असहिष्णुतालाई दर्शाउँछ ।

सीपीजेका कार्यकारी निर्देशक जोएल साइमन भन्छन्- सीपीजेले बितेका ६ वर्षदेखि संसारभर गिरफ्तार पत्रकारहरुको लेखाजोखा तयार गर्दै आएको छ । यस क्रममा के देखिन्छ भने संसारभरका सरकारहरु सूचनालाई नियन्त्रित र प्रतिबन्धित गर्ने प्रयासमा प्रतिबद्ध भएर लागिपरेका छन् अनि उनीहरु यो प्रयास निर्लज्जतापूर्वक गरिरहेका छन् ।

सीपीजेको रिपोर्टअनुसार चीनमा गत वर्ष ५० पत्रकार थुनामा परे जुन एउटै देशको सर्वाधिक गिरफ्तारी हो । यसैगरी म्यानमारमा २६ पत्रकार थुनामा राखिए । म्यानमारमा १ फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भएका गतिविधिहरुको रिपोर्टिङ गर्ने पत्रकारहरु यस्तो कारबाहीको तारो थिए । उता मिश्रमा २५, भियतनाममा २३ तथा बेलारूसमा १९ पत्रकार राज्यको कोपको सिकार भए ।

सीपीजे भन्छ- मेक्सिकोका पत्रकारहरु सधैं अपराधिक तत्त्वको निशानामा पर्दै आएका छन् । अपराधिक गिरोह तथा भ्रष्ट सरकारी अधिकारीले आफ्नो स्वार्थका लागि बारम्बार पत्रकारहरुको हत्यासम्म गराउँदै आएका छन् ।

प्रतिक्रिया