‘चन्दा नदिएपछि प्रचण्डले सेयर बजार ध्वस्त बनाए’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन् ।
अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दाबीसमेत गरे । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहणमा ओलीले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको जनाए । उनले त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताएका छन् । उनले उनीहरुको कनेक्सन कहाँ छ भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको प्रष्ट पारेका छन् । माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको अध्यक्ष ओलीले जिकीर गरेका छन् ।
अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए । सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको उनको आरोप छ । सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई वर्वाद पार्ने काममा प्रचण्डलगायत लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्वन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराएका छन् ।

प्रतिक्रिया