‘सरकारले पूँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले पूँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले सरकारले पूँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका हुन् ।
उनले यसरी सरकारको पूँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भिर भएर लागि परेको बताए । मन्त्री शर्माले मासिक रूपमा १० प्रतिशत पूँजीगत खर्च गर्ने योजना बनाएको तर, प्रतिस्थापन बजेट ल्याउनु पर्नेलगायतका कारणले खर्च हुन नसेको स्विकार गरे ।
पूँजीगत खर्च विगतका सरकारले पनि गर्न नसेकेको बताए । उनले सरकार र केन्द्रीय बैंक बजारको अहिलेको तरलता अभाव अन्त्य गर्न गम्भिर भएर लागेको बताए । अर्थमन्त्री शर्माले विद्युत निकासीभन्दा पनि आन्तरिक खपत बढाउने नीति आवश्यक भएको बताए । उनले नेपालमा उत्पान विद्युत भारतमा बिक्री गरेर व्यापार घाटा कम नहुने पनि बताए ।
अर्थमन्त्री शर्माले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीयोग्य रकम प्राप्त नहुँदा अर्थतन्त्रमा ठूलो असर परेको बताए । उनले तरलता अभाव चालु आर्थिक वर्षमा सहज हुने अवस्था नभएको बताए । अध्यक्ष गोल्छाले मुलुकमा नयाँ वैदेशिक लगानी समेत बढ्न नसकेको बताए ।
उनले विगतदेखि नेपाली अर्थतन्त्र जुर्मुराउना साथ तरलता समस्या देखिने गरेको बताए । अध्यक्ष गोल्छाले सरकारले राजस्व उठाए पनि खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत रूपमा लगानीकर्तालाई संरक्षण गर्नुपर्ने बताए । उनले सरकारले लगानीमैत्री कानुन निर्माण गर्ने बित्तिकै लगानी आफैं भित्रिने बताए । उनले भने, ‘नेपालमा भाषणमा एउटा र व्यवहारमा अर्कै भएकाले लगानी बढ्न सकेको छैन । दुई वर्षदेखि मुलुक महामारीको चपेटामा छ । यसअघि यस्तो महामारी र यति लामो समयसम्म हामीले भोगेका थिएनौं । यसले स्वास्थ्य जोखिमसँगै अर्थतन्त्रमा पनि यति गहिरोसँग असर गर्ला भनेर विश्वमा सायदै कसैले सोचेका थिए ।’
वरिष्ठ उपाध्याक्ष ढकालले नेपालको आर्थिक विकासमा मलेशियाको महाथिर मोडल अनुशरण गर्नुपर्ने बताए । उनले महाथिर मोडलले मलेसियालाई धनी बनाएको उल्लेख गर्दै नेपालका सरकार तथा नेतृत्वले ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया